जनकपुर,०८ मंसिर । मिथिला संस्कृतिको भव्य पर्व विवाहपञ्चमी महोत्सवलाई लक्षित गर्दै जनकपुरधामका सबै विद्यालय तीन दिनका लागि बन्द गरिने भएको छ। भीड व्यवस्थापन र भक्तजनको सहजताका लागि आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय स्थानीय शैक्षिक सङ्घ–संस्थाहरूले संयुक्त रूपमा गरेका हुन्।
प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त सूचना जारी गर्दै मेला तथा धार्मिक कार्यक्रमलाई व्यवस्थित बनाउने हेतुले विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएका हुन्।
यस्तै, महोत्सवको सुरक्षात्मक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जनकपुरधाममा माछा–मासु तथा मदिरा बिक्री–वितरणमा पनि तीन दिनका लागि प्रतिबन्ध लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि मङ्सिर १० गते राति १२ बजेसम्म माछा–मासु र मदिरा बिक्री–वितरण गर्न नपाइने जनाएको छ। आदेश उल्लङ्घन गर्नेहरूमाथि विद्यमान कानुनअनुसार कारवाही गरिने चेतावनी प्रशासनले दिएको छ।
विवाहपञ्चमी महोत्सवका कारण जनकपुरधाममा देश–विदेशबाट ठूलो संख्यामा भक्तजन आगमन हुने भएकाले सुरक्षा, स्वच्छता र शान्ति–व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णयहरू लागू गरिएको प्रशासनले जानकारी दिएको छ।




