काठमाडौँ,०९ मंसिर । आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन सोमबार साँझसम्म ६४ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता निवेदन पेस गरेका छन्। आयोगले दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म निर्धारण गरेको भएकाले बाँकी दुई दिनमा संख्या अझै बढ्ने निश्चित देखिएको छ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ राजनीतिक दलमध्ये १२ दलले फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ता गराइसकेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र–एकीकृत समाजवादी एकीकृत संरचना, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतले दर्ता निवेदन पेस गरिसकेका छन्।
यस्तै, अघिल्लो प्रतिनिधिसभामा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी दर्ता प्रक्रियाको अन्तिम चरणमा पुगेका छन्।
यसैबीच, दोस्रो ठूलो दल नेकपा (एमाले) र पाँचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अझै दर्ता निवेदन पेस गरेका छैनन्। प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आएको एमालेले दर्ता तयारी भइरहेको जनाएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले “समयभित्र दल अद्यावधिक गरिने” बताए। राप्रपाले पनि मंगलबार दर्ता प्रक्रिया पूरा गर्ने जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संविधानको धारा २७१ तथा राजनीतिक दल ऐन २०७३ ले प्रत्येक निर्वाचनका लागि दलले पुनः दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ। आयोगमा दर्ता भएका १३५ दलमध्ये अहिलेसम्म ६४ दलले निर्वाचनमा सहभागी हुने औपचारिक निवेदन दिएका छन्। आयोगले अध्ययनपछि सहभागी दलहरूको अन्तिम सूची सार्वजनिक गर्नेछ।
यसपटक निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पनि दर्ता गराई सोमबार निर्वाचन प्रयोजनका लागि निवेदन दिएको छ।
प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि १६ नयाँ राजनीतिक दल आयोगमा दर्ता भएका छन्। सोमबार मात्र तीन नयाँ दल—जनादेश पार्टी नेपाल, सार्वभौम नागरिक पार्टी र नागरिक सेवा पार्टी—ले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्।
यसअघि पनि नागरिक सर्वोच्चता पार्टी नेपाल, हाम्रो पार्टी नेपाल, स्वाभिमान पार्टी, उज्यालो नेपाल पार्टी, पिपुल फर्स्ट पार्टी, राष्ट्रिय उर्जाशील पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी (नेपाल), गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी दर्ता भइसकेका छन्।



