काठमाडौँ,०९ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि आफू उमेदवार हुने घोषणा गरेका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टी पुनर्गठन र रूपान्तरणलाई प्राथमिकतामा राख्दै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका हुन्।
विज्ञप्तिमा पोखरेलले पार्टीभित्रको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वका माध्यमबाट एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’ का रूपमा उभ्याउने लक्ष्य रहेको उल्लेख गरेका छन्।
उनले आफ्नो नेतृत्व–दृष्टिकोणसँगै पार्टीको आन्तरिक लोकतन्त्रबारे अघि सारेका मान्यतालाई सम्मान गर्दै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने भरोसा व्यक्त गरेका छन्। ओलीलाई अभिभावकीय भूमिकाबाट सहज निकास दिन आग्रह पनि गरेका छन्।
पोखरेलले पार्टीको मजबूती नै राष्ट्रको रक्षा र जनताको हितको सर्वोपरि सुनिश्चितता हुने भन्दै त्यसैअनुसार अघि बढ्नु आजको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन्।



