बर्दीबास,०९ मंसिर । नेपाल–भारत सीमाबाट ठूलो परिमाणको लागुऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार राज्यको मधवापुर, मधुवनी गाउँपञ्चायत–२ का ३५ वर्षीय विनोद साह रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकालका अनुसार साहको साथबाट पाँच प्रकारका नियन्त्रित औषधसहित खैरो पदार्थ पनि बरामद गरिएको छ। बरामद सामग्रीमा निटजासकपान ३,२९८ ट्याब्लेट, डाइजापाम २९९ भाइल, फेनारगन ३०० भाइल, बुप्रेनोफिन २७४ भाइल तथा पहिचान नभएको खातजस्तो देखिने ६५० मिलिग्राम खैरो पदार्थ परेको छ।
मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट ९बिओपी० का सप्रनानि टीकाबहादुर अधिकारीको नेतृत्वमा खटिएको तीन जनाको टोलीले मटिहानी नगरपालिका–८ को सीमा नजिक सानो स्तम्भ नं. २९५(५ आसपास साहलाई चेकजाँच गरेको थियो।
तलासीका क्रममा साहले बोकेको नीलो रंगको झोलाबाट उक्त परिमाणका लागुऔषधहरू बरामद गरिएको डिआइजी ढकालले बताए। साथै, साहको साथबाट मोबाइल, आइप्याड तथा नेपाली र भारतीय दुवै देशका नगद रकम पनि फेला परेको जनाइएको छ।
पक्राउ परेका साहलाई बरामद वस्तुसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रक्रिया सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ। डिआइजी ढकालका अनुसार सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको छ।




