काठमाडौं,१० मंसिर । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई नयाँ राजनीतिक शक्तिबीच महत्वपूर्ण चुनावी सहकार्य बनेको छ। ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनारद्वारा स्थापित हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्।
बुधबार काठमाडौंमा सम्पन्न छलफलमा दुवै दलले उज्यालो नेपाल पार्टीको ‘बिजुलीको चिम’ चिह्नमा चुनाव लड्ने सहमति गरेका हुन्।
उज्यालो नेपालका प्रवक्ता राजु थापाका अनुसार, सहमति औपचारिक बनाउन निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ।
फरक राजनीतिक बाटो भएर पनि एउटै चुनावी यात्रामा उभिएका यी दुई दलबीचको सहकार्यलाई आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।



