बुटवल,११ मंसिर । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामै रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित दुवैले उच्च अदालत बुटवलमा दायर गरेको निवेदन आज सुनुवाइमा नआएको हो।
मुद्दा न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा परेको थियो। तर रवि पक्षका कानून व्यवसायीले आजको पेसी स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ रोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। यसअघि पनि पाटन उच्च अदालतमा पेशी परेको कारण मागदाबी गर्दै बुटवल इजलासको सुनुवाइ स्थगित गरिएको थियो।
यो मुद्दामा पटक–पटक मिसिल मागाउने आदेश जारी हुँदै आएको छ। कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोगको मिसिल मागाउने आदेश दिएको थियो। तर सर्वोच्चबाट सक्कल मिसिल नआए पनि जिल्ला अदालतको प्रतिलिपि भने प्राप्त भएको छ।
यसअघि न्यायाधीश राई र अर्यालको इजलासले रवि र जोशी दुवैको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ अघि बढाउन आदेश दिएका थिए। उच्च अदालतले लामिछानेको निवेदनसँगै जोशीको फाइल पनि पेश गर्न भनेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा दुवैलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। लामिछाने र जोशी दुवैले अपने-आफ्नो हिस्साकाे २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतका रूपमा पेस गरेका छन्। तर व्यक्तिगत बिगो कति पर्ने भन्ने टुंगो नलागेका कारण दुवैलाई रिहा नगरेको अदालतको भनाइ छ।
हाल रवि लामिछाने नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा बसेका छन्। लामिछानेले आफू सहकारीको सदस्य, बचतकर्ता वा ऋणी नभएको दाबी गर्दै ठगीमा संलग्नता नबताउँदै आएका छन्।





