जनकपुर,१२ मंसरि । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिटमा आज शुक्रबार सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुँदैछ। न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बिहीबारदेखि चलिरहेको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदहरूले यादवको नियुक्ति प्रक्रियामै संवैधानिक त्रुटि भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन्।
यसैबीच मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादवले दायर गरेको अर्को रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।
कात्तिक २२ मा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखेर राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
तर शपथ ग्रहण प्रक्रिया विवादित बनेपछि मुख्यमन्त्रीलाई ‘बिरामी’ बहानामा बर्दिबासको पानस होटलमा लगेर शपथ ग्रहण गराइएको आरोपपछिप्रदेश प्रमुख भण्डारी नै चर्को आलोचनामा परिन्। त्यसपछि संघीय सरकारले उनलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको हो।



