काठमाडौं, १२ मंसिर । आउँदो २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन दर्ता गराउने दलको संख्या १०८ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार साँझसम्म चुनाव प्रयोजनका लागि दर्ता भएकामध्ये केही दलले अझै सबै प्रक्रिया पूरा गर्न बाँकी छ।
चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने समय आइतबारसम्म थपिएकोले यो संख्या अझै बढ्ने अपेक्षा आयोगले गरेको छ। अहिले आयोगमा दल दर्ता प्रक्रियामा रहेका १६ दल छन्, जसले अधिकारिता पाएपछि चुनावी दर्तामा सामेल हुन सक्नेछन्।
२०७९ साल मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले सहभागिता जनाएका थिए। यसपटक दर्ता संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ, जसले राजनीतिक गतिविधि र नयाँ संरचनाका दलहरूको सक्रियता देखाएको आयोगको विश्लेषण छ।
यता, निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएका दलको कुल संख्या १३९ पुगेको छ। बिहीबार मात्रै माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्।
बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएपछि जेनजी आन्दोलनपछि दर्ता हुने नयाँ दलको संख्या २३ पुगेको छ।
चुनाव नजिकिँदै गर्दा दल दर्ता प्रक्रियामा आएको तीव्रता आगामी निर्वाचनलाई अझ प्रतिस्पर्धी बनाउने संकेत देखिएको छ।




