वीरगन्ज,१२ मंसिर । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को कार्यालय आठ वर्षदेखि साँघुरो, असुविधाजनक र दुर्गन्धित कोठामा सञ्चालन हुँदै आएको छ। दैनिक ७०–१०० सेवाग्राही घटनादर्ता, नागरिकता, घरबाटो सिफारिस जस्ता सेवाका लागि आउँछन्, तर बस्ने पर्याप्त व्यवस्था नहुँदा वृद्ध, अशक्त र सुत्केरीसमेत ठूलो असुविधामा पर्नु परेको छ।
एकै कोठामा वडाध्यक्ष, सचिव, प्राविधिक, लेखनदास र सहयोगी गरी ६ जनाले तीन टेबलमा काम गर्दै आएका छन्। कर्मचारी मनिफ मियाँका अनुसार “काम गर्न अप्ठ्यारो छ, सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ।”
दुई कार्यकाल निर्वाचित वडाध्यक्ष रियाज अहमदले वडा कार्यालय भवन बनाउन पहल गरेका भए पनि महानगरबाट बजेट नआएको कारण योजना अघि बढ्न सकेको छैन। उनले भने, “महानगरले बजेट दिएन भने वडाको बजेटबाट भवन निर्माण गर्नेछु।”
वीरगन्ज महानगरपालिकाले ३२ वडाका लागि वार्षिक १–१.२५ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ। प्रशासन शाखा प्रमुख सुनिल कर्णले भने, “अस्थायी रूपमा भाडाको सुविधासम्पन्न घरमा कार्यालय चलाउन सकिन्छ। प्रमुख र प्रशासकीय अधिकृत फर्केपछि यो विषय प्राथमिकतामा राखिनेछ।”



