spot_img

जगदम्बा ओभरसिजबाट ७० लाख बढी राजस्व छली, सुलभ अग्रवालमाथि भन्सार छेडखानीको आरोप

spot_img
spot_img

काठमाडौँ,१२ मंसिर। शंकर ग्रुपअन्तर्गतको जगदम्बा ओभरसिज प्रा.लि. ले नेपालमा आयात हुने विशेष प्रकारको चुरोट (टोबाको स्टिक्स) मा करिब ७० लाख ८८ हजार रुपैयाँभन्दा बढी राजस्व छली गरेको पाइएको छ।

यो प्रकरणमा कम्पनीका प्रमुख सुलभ अग्रवाल संलग्न रहेको देखिएको छ। प्रारम्भिक तथ्यांकअनुसार भन्सार विभागका केही कर्मचारीसँग मिलेमतो गर्दै विभागको आशिकुडा प्रणालीमा छेडखानी गरी चालू आर्थिक वर्षमा बढी राजस्व छली गरिएको दाबी गरिएको छ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार, एचएस कोड २४०४११०० अन्तर्गत आयात हुने टोबाको स्टिक्समा कानुन अनुसार १४३.६२८ प्रतिशत राजस्व तिर्नुपर्ने भए पनि धेरै कम राजस्व तिरेर सामान नेपाल भित्रिएको छ। भन्सार तथ्यांकअनुसार कात्तिक मसान्तसम्म ९६ लाख रुपैयाँ बराबरको टोबाको स्टिक्स आयात भएकोमा विभागले जम्मा ६७ लाख मात्र संकलन गरेको छ। वास्तविक राजस्व १ करोड ३७ लाख ८८ हजार रुपैयाँ हुनुपर्नेमा आधाभन्दा बढी राजस्व छली भएको देखिएको छ।

जगदम्बा ओभरसिज चुरोट र मदिरा आयात तथा वितरण गर्ने कम्पनी हो र यसले अन्तर्राष्ट्रिय टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेशनल का उत्पादन बिक्री वितरण गर्दै आएको छ। सुलभ अग्रवाल यसअघि कोरोना परीक्षणमा प्रयोग हुने थर्मल गनको कालोबजारीमा समेत पक्राउ परेका थिए।

भन्सार प्रणालीमा भएको यो छेडखानीले प्रणालीगत कमजोरी र कर्मचारीको मिलेमतोलाई उजागर गरेको छ। यद्यपि, भन्सार महानिर्देशक श्यामप्रसाद भण्डारीले अनभिज्ञता व्यक्त गरेका छन्। जाँचपास परीक्षण कार्यालयले भने, राजस्व गुमेको क्षेत्रमा उजुरी आएमा मात्र अनुसन्धान अघि बढ्ने बताएको छ, जसले ठूला राजस्व छलीका घटनामा स्वतःस्फूर्त कारबाही हुन नसक्ने देखाएको छ। साभार रेसखबर

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय