हेटौंडा, १२ मंसिर। सडक डिभिजन कार्यालय हेटौंडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन आपूर्ति नगर्न नेपाल आयल निगमलाई पत्राचार गरेको छ।
कार्यालयले हेटौंडा–१० स्थित बलरामदास पेट्रोल पम्प र वडा नं. ४ को ओम आयललाई त्यहाँबाट तत्काल स्थानान्तरण गर्न पत्राचार गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारको तयारी गरिरहेको छ। राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल र एलपी ग्यास फिलिंग स्टेशन स्थापना सम्बन्धी मापदण्ड–२०७८ अनुसार प्रक्रिया पूरा नगरेसम्म इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको हो।
त्यसैगरी, सडक सीमाभित्र रहेका अन्य संरचना हटाउन मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिका कार्यालयलाई समेत पत्राचार गरिएको छ। नेपाल विद्युत प्राधिकरण हेटौंडाले सडक सीमाभित्र रहेको विद्युत मिटर बक्स तथा अन्य उपकरणको व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरेको छ।
सडक डिभिजनले गत ५ मंसिरमा १५ दिनको अल्टिमेटम जारी गर्दै सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी र अस्थायी संरचना हटाउन तोकेको थियो। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको क्षेत्रसमेत यसमा पर्छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार २० मंसिरदेखि मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
हाल, डिभिजन इन्जिनियर यादव सुवेदीको नेतृत्वमा गठित टास्क फोर्सले रातोमाटे क्षेत्रबाट सडक सीमा नक्शांकन सुरु गरेको छ। टास्क फोर्समा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी, नापी कार्यालय, खानेपानी बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण लगायतका निकायका प्रतिनिधि सदस्य छन्।




