जनकपुर,१२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिलाई लिएर परेको रिटमाथि सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि नसकिँदा मुद्दा फेरि ‘हेर्दाहेर्दैमा’ राखिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा बिहीबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको यो विवादास्पद मुद्दाको अर्को सुनुवाइ अब सोमबार हुने सहरजिस्ट्रार तथा अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
मधेस प्रदेशमा सरकार गठनसम्बन्धी तीनवटा अलग–अलग रिटलाई एकैसाथ सुनुवाइ भइरहेको छ। मूल विवाद भने संविधानको धारा १६८(२) अनुसार बहुमतका आधारमा सरकार गठनको सम्भावना हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६२(३) प्रयोग गरेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु योग्य थियो कि थिएन भन्नेमा केन्द्रित छ।
कात्तिक २४ गते बर्दिबासस्थित पानस होटलमा प्रदेश प्रमुख भण्डारीले हतारमा यादवलाई शपथ गराएकी थिइन्। सो घटना राजनीतिक रूपमा निकै विवादित बनेपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई पदमुक्त गरेका थिए।
मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट बनेका मधेस प्रदेशका सांसदहरू सडकसम्म उत्रिए। प्रारम्भिक सुनुवाइमै सर्वोच्च अदालतले अन्तिम फैसला नआउन्जेल मुख्यमन्त्री यादव नेतृत्वको सरकारले कुनै नीतिगत वा दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।



