रौतहट,१२ मंसिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रौतहटमा सवारी दुर्घटनाको संख्या उच्च देखिएको छ। जिल्लामा साउनदेखि कात्तिकसम्म ३०६ वटा दुर्घटना भएका छन्, जसमा १४ जनाले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढी घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सोही अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २ हजार ६५१ सवारी साधनलाई कारवाही गरिएको छ। कारवाहीबाट २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले जानकारी दिए।
महिना–महिनाअनुसार साउनमा ९७८, भदौमा ६९७, असोजमा ४२५ र कात्तिकमा ५५१ सवारी साधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ। दुर्घटनाका हिसाबले भने कात्तिक महिनामा सबैभन्दा धेरै—९९ वटा—दुर्घटना दर्ता भएका छन्। साउनमा ५७, भदौमा ४९ र असोजमा ९९ दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, सडक दुर्घटना नियन्त्रण तथा सचेतनाका लागि कार्यालयले चार महिनामा १,३८५ सचेतना कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा १९ हजार ३६५ जनाले सहभागिता जनाएका छन्। कार्यक्रमहरूमा सडक सुरक्षा, ट्राफिक नियम, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मातृभाषामा सचेतना, विद्यालयस्तरका कक्षा र सामुदायिक अभियानहरू समावेश गरिएको ट्राफिक प्रहरीले जनाएको छ।





