जनकपुर,१३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा आयोजित तीनदिने पार्टी प्रशिक्षण कार्यक्रममार्फत नेता तथा कार्यकर्तालाई मार्गदर्शन गरेका छन्। पार्टी स्कुल तथा प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण शुभम् होटलमा बुधबारदेखि शुक्रबारसम्म चलेको थियो।
कार्यक्रममा अध्यक्ष यादवले नेपालको राजनीतिक शक्ति–सन्तुलन, जसपाको नीति–सिद्धान्त, संगठन सञ्चालन, नेतृत्व विकास तथा समकालीन राजनीतिक परिस्थितिबारे विस्तृत प्रशिक्षण दिएका थिए। उनले संघीयता, गणतन्त्र, दलहरूको वैचारिक द्वन्द्व र मुलुकमा उत्पन्न चुनौतीहरूबारे समेत सहभागीहरूसँग विमर्श गरेका थिए।
प्रशिक्षणमा राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा एआई र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, नेतृत्व क्षमताको विकास तथा निर्वाचन व्यवस्थापनका विषयमा सत्र सञ्चालन गरे। अर्थशास्त्री उमाशंकर प्रसाद साहले राष्ट्रिय अर्थतन्त्रको अवस्था, संघ–प्रदेशबीचको वित्तीय असमानता र संघीय मोडेलका कमजोरीसम्बन्धी प्रशिक्षण दिए।
समापन समारोहमा अध्यक्ष यादवले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे। जसपा प्रदेश समिति, जिल्ला समिति, राष्ट्रिय समिति, जनप्रतिनिधि तथा मनोनित सदस्यहरूको उल्लेख्य उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको पार्टीले जनाएको छ।



