विराटनगर,१३ मंसिर । नेकपा एमालेको ११औँ अधिवेशनका लागि विराटनगरमा आयोजना गरिएको प्रतिनिधि छनोट मतदान सोमबार तनावपूर्ण बनेको छ। पाञ्चालीस्थित पार्टी कार्यालयमा मतदान जारी भइरहँदा कार्यकर्ताबीच तीव्र विवाद हुँदै झडपसमेत भएको हो।
तनावको प्रमुख कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ। UML नेता परशुराम बस्नेतले अशक्त र अपाङ्गता भएका व्यक्तिका नाममा केही व्यक्तिले वारिस बनेर पुनःपुनः भोट हाल्न खोजेको आरोप लगाउँदै कडा आपत्ति जनाए।
सार्वजनिक भिडियोमा बस्नेत आक्रोशित हुँदै ‘तपाईं अभिभावक होइन, यसरी भोट हाल्न पाइन्न’ भन्दै प्रतिपक्षी समूहसँग वादविवाद र झम्टिने कोशिश गरेको देखिन्छ। उनलाई रोक्न अन्य कार्यकर्ता तथा सुरक्षा कर्मी सक्रिय भएर लागेका थिए।
झडपका क्रममा कार्यकर्ताबीच भारी ठेलमठेल भएको र एक महिलाले ‘यस्तै गरे मर्ने पर्ने भयो’ भन्दै चिन्ता व्यक्त गरेको सुन्निन्छ। घटनाले एमालेभित्रको बढ्दो गुटबन्दी, अविश्वास र आन्तरिक असन्तुष्टि सतहमा आएको टिप्पणी कार्यकर्ताहरूले गरेका छन्।
फर्जी मतदानको आरोप उग्र बन्दा केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो। स्थिति नियन्त्रणमा आएपछि प्रक्रिया पुनः सुचारु गरिएको बताइन्छ।



