भक्तपुर, १३ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा अहिले देखिएको राजनीतिक संकटको एक मात्र निकास निर्वाचन रहेको बताएका छन्। शनिबार भक्तपुरको राधेराधेमा आयोजित आजपाको क्षेत्र नं. २ स्तरीय भेलालाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन गराउनुपर्नेमा जोड दिएका हुन्।
साहले वर्तमान प्रधानमन्त्री सुशील कार्की र एमाले अध्यक्ष केपी ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको आरोप लगाए। उनका अनुसार प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावनालाई कुल्चेको र एमाले नेतृत्वले सत्ताको दुरुपयोग गरेर आन्दोलनमा दमन गरेको छ। “जेनजी बिद्रोहले भ्रष्टाचारीको कारबाही मागेको थियो, तर सरकारले त्यो माग पूरा गर्न सकेन। यसै कारण सरकार असफल भएको छ,” साहले भने।
साहले भदौ २३–२४ गतेको जेनजी आन्दोलनको घटनामा सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका र सडकमा भएको जबर्जस्त उपस्थिति जाँच्नुपर्ने बताएका छन्। साथै गृहमन्त्री अर्यालको कार्यक्षमता माथि प्रश्न उठाउँदै शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नसक्ने बताए।
साहले निर्वाचन आयोगको कार्यप्रणाली पनि कमजोर रहेको भन्दै दोषीहरूसँग बयान लिन असफल भएको आरोप लगाए। उनले सरकारलाई सुझाव दिए कि आगामी फागुन २१ को निर्वाचन सफल बनाउन सम्पूर्ण तागत केन्द्रित गर्न आवश्यक छ।
भेलामा आजपा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा सहअध्यक्ष तिलक थापामगर, संगठन विभाग प्रमुख त्रिभुवन साह लगायतको सहभागिता रहेको थियो। त्यस्तै, भेलाले ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादव; सचिवमा कोशिला कुमारी; सहसचिवमा निर्मला मगर, उषा शर्मा; कोषाध्यक्षमा सुभी धिमाल रहेका छन्।



