रौतहट,१४ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग प्रत्यक्ष संवाद कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’ को १५औँ दिनमा बृन्दावन नगरपालिका–३ का नागरिकले बर्थिङ सेन्टर बन्द भएको गुनासो गरेका छन्।
बिहानको टेलिफोन संवादमा नागेन्द्र यादवले स्वास्थ्य चौकीभित्रको बर्थिङ सेन्टर लामो समयदेखि बन्द रहँदा गर्भवती महिलाले कठिनाइ भोग्नुपरेको बताए। उनका अनुसार प्रसूति सेवाका लागि महिलाहरूलाई अन्य ठाउँमा जानुपर्ने बाध्यता सिर्जना भएको छ।
“मेयर र स्थानीय तहसँग पटक–पटक गुनासो गरिसक्दा पनि समस्या समाधान भएको छैन। बर्थिङ सेन्टर तुरुन्त सञ्चालनमा ल्याउनुपर्छ,” उनले मुख्यमन्त्रीलाई भने।
गुनासो सुनेपछि मुख्यमन्त्री यादवले सम्बद्ध निकायसँग समन्वय गरी समस्या छिटो समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। उनले आधारभूत स्वास्थ्य सेवामा कुनै अवरोध अस्वीकार्य भएको स्पष्ट गर्दै आवश्यक कदम तत्काल अघि बढाइने बताएका छन्।
यससँगै बृन्दावन–३ का स्थानीयवासी लामो समयदेखि बन्द रहेको बर्थिङ सेन्टर पुनः सञ्चालनमा आउने अपेक्षा राखेका छन्।



