बीरगन्ज,१४ मंसिर । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका करिब २.२५ टन केरा सशस्त्र प्रहरीले बीरगन्जमा बरामद गरेको छ। बीरगन्ज महानगरपालिका–१५, भिष्वास्थित एनएमसी रोडमा रहेको मनिष फ्रुट सप्लायर्स को गोदाममा लुकाइ राखिएका १५० क्यारेट केरा संयुक्त सुरक्षादलले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले शुक्रबार साँझ गोदाममा छापा मार्दा गोदाम सञ्चालक शम्भु कुमार गुप्ता भारतबाट चोरी–पैठारी गरेर भण्डारण गरिरहेको अवस्थामा फलफूल फेला परेको थियो।
हालै नेपाली किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले बजार पाउन कठिन भइरहेको र भारतबाट अवैध रूपमा सामान भित्रिनेक्रम बढ्दो रहेको गुनासो आएपछि सीमा क्षेत्रमा निगरानी कडा पारिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी विश्वराज योन्जनले बताए।
“चोरी–पैठारी रोकिने मात्र होइन, राजश्व सङ्कलनमा पनि टेवा पुग्ने गरी अभियानलाई थप प्रभावकारी बनाइरहेका छौँ,” उनले भने।बरामद गरिएको केरा आवश्यक कानुनी कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



