विराटनगर,१४ मंसिर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमै पूरा गर्न कडाइका साथ निर्देशन दिएका छन्।
आइतबार अस्पतालको निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई सम्झौता अनुसार भवन समयमै तयार पारेर हस्तान्तरण गर्न स्पष्ट रूपमा आदेश दिए। बिरामीको चाप बढ्दै गएपछि निर्माण कार्य ढिलो भएको गुनासो आएपछि उनी स्वयं निरीक्षणमा पुगेका थिए।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार २ अर्ब ४५ करोड लागतको ११ तले भवनको करिब ३५ प्रतिशत मात्रै काम पूरा भएको छ। यस्तै, ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत काम सम्पन्न भएको छ। दुवै भवन करिब चार वर्ष अघि निर्माण सुरु भएको थियो।
निर्माण व्यवसायी केसी एन्ड रमण कन्स्ट्रक्सनसँग भएको सम्झौतामा चालु आर्थिक वर्षमै भवन हस्तान्तरण गर्ने उल्लेख भए तापनि निर्माणको प्रगति अपेक्षाकृत सुस्त भएको देखिएपछि मन्त्री घिसिङले कार्यान्वयनमा तीव्रता ल्याउन निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा कोशी अस्पतालका प्रमुख डा. रुणा झा र संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयका डिभिजनल इन्जिनियर सुरेन्द्र साहले प्रगति, समस्या र आगामी कार्ययोजनाबारे मन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।




