spot_img

भासिएको कमला पुलको पुननिर्माण सुरु

spot_img
spot_img

जनकपुर,१५ मंसिर । हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु भएको छ। पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले पुल असार अगावै सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको बताए।

यस पुलको प्रारम्भिक ठेक्का २०६८ मा पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना भए पनि बारम्बार म्याद थपिएपछि करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको अवस्थामा २०७८ असारमा आएको बाढीले पुल भासिएर काम अवरुद्ध भएको थियो।

निर्माण ढिलाइ भएपछि पप्पु कन्स्ट्रक्सन हटाएर काम लुम्बिनी बिल्डर्सलाई जिम्मा दिइएको थियो। लुम्बिनी बिल्डर्सले २०८० माघ २ बाट पुननिर्माण सुरु गरेको भए पनि हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन। कुल ४६९ मिटर लम्बाइको पुलको अहिलेसम्म ८३ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत शनिबार स्थलगत निरीक्षण गर्दै निर्माण पक्षलाई अधुरो काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनले नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोग गर्दै समयमै काम पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

पुल निर्माण ढिलाइ हुँदा स्थानीयवासी वर्षौँदेखि कठिनाइ भोग्न बाध्य भएका छन्। केही महिनाअघि स्थानीय तथा जनप्रतिनिधिहरूले मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना पनि दिएका थिए। तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले चाँडै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

यो पुल सिराहा लगायत पूर्वी क्षेत्रलाई मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो। हुलाकी सडक अन्तर्गत पुल समयमै नबन्दा स्थानीयवासी वर्षौँदेखि यातायात समस्या र दैनिक सास्ती भोग्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय