जनकपुर,१६ मंसिर । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि जितेन्द्रकुमार यादवको गाडीमा सोमबार राति अज्ञात समूहले आगो लगाएको छ। लहान–का–२ भगवानपुर निवासी यादवको बा ०१–००६ ख ५८१८ नम्बरको इभी चार्जिङ हायस घरअगाडि पार्क गरिएको अवस्थामा राति करिब ११ बजे जलाइएको हो।
करिब दुई वर्षअघि ६० लाख रुपैयाँमा खरिद गरिएको उक्त गाडी लहान–काठमाडौं रुटमा चलाउँदै आएका यादव हालै मंसिर १३ गते सम्पन्न प्रतिनिधि छनोटमा १,१८८ मत ल्याएर सिराहा–१ क्षेत्रबाट विजयी भएका थिए।
आगलागीपछि तत्काल नजिकको इलाका प्रहरी कार्यालय लहानबाट सुरक्षाकर्मी पुगे पनि वडा–१९ कटहा चोकसम्म सडक निर्माणका क्रममा सडक खनिएकोले बाटो अवरुद्ध थियो। यस कारण गोलबजार नगरपालिकाबाट आउने वारुण यन्त्र घटनास्थल पुग्न झन्डै दुई घण्टा लागेको स्थानीयले बताए।
लहान नगरपालिकामा ३० वर्षअघि खरिद गरिएको वारुण यन्त्र बिग्रिएको अवस्थामा रहेकाले समयमै आगो निभाउन नसकिएको जनाइएको छ। “आगो लागेपछि नजिकको कार्यालयबाट मात्र आधा घण्टामै पुग्यो, तर वारुण यन्त्र नआएर गाडी जोगिएन,” स्थानीयहरूले आक्रोश पोखे।
स्थानीयका अनुसार लहानमा २४ वटा वडा भए पनि कार्यक्षम वारुण यन्त्र नहुनु र नयाँ यन्त्र खरिद नगर्नु आगलागी नियन्त्रणमा प्रमुख चुनौती बनेको छ। लहानस्थित वारुण यन्त्र सञ्चालन अवस्थामा भएको भए घटनास्थल पुग्न १० मिनेट पर्याप्त हुने स्थानीयले बताए ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार आगो लगाउने समूह पहिचान गर्न प्रहरी अनुसन्धानमा जुटेको छ। घरअगाडि पार्क गरिएको गाडीमा आगजनी भएको यो पहिलो घटना भएको उनले बताए।



