बीरगन्ज,१६ मंसिर । पर्साको पटेर्वासुगौली–२ स्थित रङ्गपुरटाँडी प्रहरी चौकीमा सोमबार पक्राउ परेका दुई गाँजा तस्करलाई स्थानीय समूहले ‘फिल्मी शैली’मा छुटाउने प्रयास गरे पनि प्रहरीको सक्रियताले असफल भएको छ।
प्रहरीका अनुसार मकवानपुरबाट बाराको जनता सडकमार्ग हुँदै सोनवर्षामा भण्डारणका लागि लैजाँदै गरेको १०० किलोभन्दा बढी गाँजा बरामद गरिएको थियो। पक्राउ परेका अभियुक्तमा कुमार स्याङ्ताङ र भीम स्याङ्ताङ रहेका छन्।
घटनापछि प्रहरी फोर्स थपिँदा तस्कर समूह भागेको थियो। भागेका केही तस्कर सोनवर्षाका रहेको प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाहरूलाई थप हुलदङ्गा रोक्न जिल्ला प्रहरी कार्यालय पर्सामा सारिएको छ।




