spot_img

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा सर्वोच्चको रोक

spot_img
spot_img

काठमाडौँ,१६ मंसिर । जेनजी आन्दोलनपछि गठन गरिएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको दुई महत्वपूर्ण निर्णय सर्वोच्च अदालतबाट रोकिएको छ। निर्वाचन प्रयोजनका लागि बनेको सरकारले ११ जना राजदूत फिर्ता गर्ने र भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयलाई सर्वोच्चले असंगत ठहर गर्दै बदर गरेको हो।

सोमबार न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग र यसको जिल्ला समिति खारेज गर्ने निर्णय बदर गर्ने आदेश जारी गर्‍यो। आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी गरिएको थियो। पूर्णपाठ नआए पनि अदालतले निर्वाचनका लागि बनेको सरकारले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नपाउने स्पष्ट सन्देश दिएको छ।
निर्वाचन–केन्द्रित सरकार दीर्घकालीन निर्णय गर्न मिल्दैन : अदालत
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार सरकार निरन्तर विवादास्पद र दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्दै जाने हो भने निर्वाचन नै प्रभावित हुने जोखिम देखेर सर्वोच्चले रोक लगाएको हो।

‘यसअघि पनि सर्वोच्चले राजदूत फिर्ता गर्ने निर्णयमा स्पष्ट रूपमा भनेको थियो— अन्तरिम सरकारको प्राथमिकता निर्वाचन हो,’ अधिवक्ता पौडेलले बताए, ‘भूमि आयोगको निर्णयमा पनि अदालतले त्यसै सन्देश दोहोर्याएको छ।’

उनी भन्छन्, ‘अन्तरिम सरकार आफ्नो सीमाभन्दा बाहिर गएर निर्णय लिँदा राजनीतिक तनाव र अनावश्यक विवाद सिर्जना हुन्छ। अदालतले यही जोखिम टारिदिएको हो।’
राजदूत फिर्ताको निर्णय पनि रोक
गत कात्तिक १६ गते सर्वोच्चले ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले दायर गरेको रिटमा सर्वोच्चले दुई मुख्य आधार प्रस्तुत गरेको थियो—

अन्तरिम सरकारको सीमित म्यान्डेट : संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन ६ महिनाभित्र गराउन बनेको सरकारको दायित्व राजदूत फिर्ता गर्ने होइन।

संसदीय सुनुवाइ सम्भव छैन : संसद विघटित भएकाले नयाँ राजदूत नियुक्ति प्रक्रिया पूरा हुन सक्दैन, यस्तो अवस्थामा राजदूत फिर्ता गर्नुको औचित्य छैन।
राजदूत फिर्ता गर्ने अधिकार भए पनि प्रक्रियागत समस्या
राजदूत फिर्ता गर्ने अधिकार सरकारकहाँ भए पनि वर्तमान संवैधानिक परिस्थितिमा त्यो निर्णय व्यावहारिक नहुने अदालतले औंल्याएको छ।
संसदीय सुनुवाइ बिना राजदूत नियुक्ति सम्भव नहुने भएकाले फिर्ता निर्णय नै असंगत ठहर भएको हो।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ ले पदावधि चार वर्ष भने पनि ‘आवश्यक ठानेमा सरकारले फिर्ता बोलाउन सक्ने’ व्यवस्था राखेको छ। तर, अदालतको भनाइअनुसार निर्वाचन–केन्द्रित सरकारले यस्तो संवेदनशील निर्णय लिन मिल्दैन।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय