काठमाडौँ,१८ मंसिर । जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि सरकारले कात्तिक २४ मा मापदण्ड स्वीकृत गरे पनि एक महिना नबित्दै वर्गीकरणको काम पूरा हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म २५ सय २३ मध्ये घाइतेमध्ये ४६० जनाको मात्र वर्गीकरण सकिएको छ। गृह मन्त्रालयले वितरण गर्ने घाइते परिचयपत्र प्राप्त गरेपछि मात्र वर्गीकरण टुंगिने प्रक्रिया सुरु हुने भए पनि धेरै घाइते परिचयपत्र लिन नआइकनाले काम ढिलो भएको मन्त्रालयको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले घाइतेहरूलाई चोटपटकको गम्भीरताका आधारमा अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार समूहमा वर्गीकरण गर्ने व्यवस्था गरेको छ। उपचार गराएका ७४ स्वास्थ्य संस्थाका घाइतेहरूको विवरण २५ कात्तिकमै मन्त्रालयले गृह मन्त्रालयमा पठाएको थियो।
गृह मन्त्रालयले सोही दिन देशभरका जिल्ला प्रशासन कार्यालय (जिल्ला प्रशासन) मा पत्राचार गर्दै सात दिनभित्र सूचना प्रकाशित गरी परिचयपत्र वितरण र वर्गीकरण प्रक्रिया छिटो पूरा गर्न निर्देशन दिएको थियो।
हालसम्म परिचयपत्र प्राप्त रहेका ४६० मध्ये २०४ जनाको वर्गीकरण स्वास्थ्य मन्त्रालयमा आएको छ। तीमध्ये काठमाडौंका १६९, कास्कीका १३, ललितपुरका १, झापाका १७, धनगढी, धनुषा, पर्सा र रूपन्देहीबाट जनही १–१ जनाको वर्गीकरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। बाँकी विवरण मन्त्रालयको प्राविधिक समितिमा रूजु गरी पुनः गृह मन्त्रालयमा पठाइनेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूलाई जिल्ला प्रशासन कार्यालयमा पुगेर घाइते परिचयपत्र लिन आग्रह गर्दै वर्गीकरण नभएसम्म राहत तथा क्षतिपूर्ति प्रक्रियाहरू अघि बढ्न नसक्ने स्पष्ट पारे।




