काठमाडौँ, १९ मंसिर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना अघि बढ्न नसक्ने बताएका छन्।
शुक्रबार प्रेस चौतारीमा आयोजित पत्रकार सम्मेलनमा थापाले वर्तमान परिस्थिति अनुसार ओलीको विकल्प खोज्नु अनुचित रहेको बताए। उनले भने, “एमाले एकताबद्ध रहन ओलीको निरन्तरता आवश्यक छ। विधान महाधिवेशनले पनि यही सन्देश दिएको छ।”
थापाले पार्टीभित्र भइरहेको विभिन्न उम्मेदवारी घोषणाले एकतामा बाधा पुर्याउने दाबी गर्दै सबैलाई ओलीकै नेतृत्वमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले एमालेलाई विघटन र विसर्जनतर्फ नजानु पर्ने चेतावनी पनि दिए।
थापाका अनुसार, पार्टीको विधानअनुसार २५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी रहेको भए पनि आवश्यक परे विधान संशोधन गरी पदाधिकारी बढाएर सबैलाई समेट्न सकिने छ। यसले माओवादी पृष्ठभूमिका नयाँ नेता र कार्यकर्ताहरूलाई पनि एमालेमा समावेश गर्न सहयोग पुग्नेछ।
उनी भन्छन्, “टोपबहादुर जेलबाट मुक्त भएपछि पार्टीले नयाँ निर्णय लिनेछ, तर हाल उनी कुनै पदमा रहने छैनन्। महाधिवेशनले सबै पृष्ठभूमिका सदस्यहरूको निरन्तरता सुनिश्चित गर्नुपर्छ।”
थापाले एमालेको स्थायित्व र एकतालाई सर्वोच्च प्राथमिकता राख्दै पार्टी सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे।



