काठमाडौँ, १९ मंसिर । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती ६ जनाको राजीनामा स्वीकृत भइसकेको छ।
हालै रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना ले राजीनामा दिएका छन्। यसअघि लोकदर्शन रेग्मी (अमेरिका), कृष्णप्रसाद ओली (चीन), चन्द्रकुमार घिमिरे (बेलायत) र रमेशचन्द्र पौडेल (कतार) ले पनि राजीनामा दिएका थिए।
सरकारले असोज ३० मा ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलाग्दासम्म फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो। त्यसपछि सरकारले घुमाउरो व्यवस्था अपनाउँदै उनीहरूलाई परराष्ट्र मन्त्रालयमा उपस्थित भएर काम गर्ने गरी फिर्ता बोलाएको थियो।
अहिलेसम्म राजीनामा नदिएका राजदूतहरूमा शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन), डा . दुर्गाबहादुर सुवेदी (जापान) परराष्ट्र मन्त्रालयमा दैनिक हाजिर भई काम गरिरहेका छन्। उनीहरूले सर्वोच्चको निर्णयपछि मात्रै अन्तिम कदम चाल्ने बताएका छन्।



