काठमाडौं — जेनजी महोत्सवमा संयोजक प्रचण्ड : “देश अझै पूर्ण रूपमा संकटमुक्त छैन”
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) द्वारा काठमाडौंमा आयोजित जेनजी महोत्सवमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले पनि गम्भीर राजनीतिक संकटको छायाँमा रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार, भदौ २३ र २४ मा देश राज्यविहीनजस्तो स्थितिमा पुगेको र राष्ट्र ठूलो संकटमा परेको थियो। उनले भने, “अहिलेसम्म पनि त्यो संकट पूरी रूपमा हटेको छैन। विभिन्न ठूला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि भूराजनीतिक चलखेल गरेको छ।”
प्रचण्डले नेपाल अहिले शक्तिशाली राष्ट्रहरूले जस्तै एटोमिक इनर्जी उत्पादन गर्न वा मिसाइल परीक्षण गर्न सक्ने हैसियतमा नभएको उल्लेख गर्दै यस्तो भूराजनीतिक दबाब रोक्न जनताको एकता नै मुख्य आधार रहेको बताए।
उनले भने, “हामीसँग आणविक क्षमता छैन, तर तीन करोड नेपाली एक ढिक्का भएर अघि बढे भने हाम्रो स्वाधिनता कसैले खोस्न सक्दैन।”
उनका अनुसार, नेपाली कम्युनिस्ट पार्टी निर्माणको उद्देश्य अन्य लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रिय स्वाभिमान, पहिचान र अधिकारलाई बलियो बनाउने अभियान सुरु गर्नु हो।
देशभरका सबै देशभक्त नेपालीबीच एकता आवश्यक भएको उल्लेख गर्दै उनले वर्तमान चुनौतीहरूलाई जनशक्ति र राष्ट्रिय सहमतिद्वारा मात्र सामना गर्न सकिने धारणा राखे।





