जनकपुर,०४ पुस । मधेश प्रदेशको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासका लागि भारत सरकारले अढाई अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ । भारतीय महावाणिज्य दूतावास वीरगन्जका अनुसार हालसम्म मधेश प्रदेशमा ८६ वटा विकास परियोजनालाई स्वीकृति दिइएको छ, जसको कुल लगानी २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
स्वीकृत परियोजनामध्ये ६१ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा परियोजनाको काम सञ्चालनमा रहेको जनाइएको छ । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी ५२ वटा योजना शिक्षा क्षेत्रमा रहेका छन् । त्यसैगरी ६ वटा स्वास्थ्य, ८ वटा सडक तथा पुल, १ वटा नदी बाँध, २ वटा सिँचाइ, ३ वटा संस्कृति, ५ वटा विद्युत्तीकरण तथा ९ वटा मिश्रित परियोजना सञ्चालनमा छन् ।
प्रदेशका जिल्लामध्ये धनुषामा सबैभन्दा बढी २१ वटा परियोजना स्वीकृत भएका छन् । तीमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा परियोजनामा काम जारी छ ।
भारत–नेपाल विकास सहयोग तथा साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत विद्यालय, कलेज, अस्पताल, खानेपानी, नदी नियन्त्रणलगायत क्षेत्रमा पूर्वाधार निर्माण भइरहेको महावाणिज्य दूतावास वीरगन्जका कन्सुल जनरल देवी सहाय मीणाले बताए । उनका अनुसार नेपाल सरकारसँग समन्वय गरेर स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले यी परियोजना कार्यान्वयनमा ल्याइएका हुन् ।
यसैक्रममा शुक्रबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सीयाहीस्थित बैधनाथ देव नारायण सामुदायिक विद्यालयमा भारत सरकारको सहयोगमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको छ । करिब ३ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवनमा केमेस्ट्री, फिजिक्स र कम्प्युटर ल्याबसहित ३७ वटा कक्षाकोठा, पुस्तकालय, स्टाफ रुम, कार्यालय र शौचालयको सुविधा रहेको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले भारत सरकारको सहयोगले सामुदायिक विद्यालयमा गुणस्तरीय पूर्वाधार निर्माण भएको बताए । कम आय भएका परिवारका बालबालिकालाई शिक्षाको अवसर विस्तार हुने उनले विश्वास व्यक्त गरे ।
भारत सरकारले हालसम्म नेपाललाई १ हजार ४९ वटा एम्बुलेन्स र ३८१ वटा स्कूल बस सहयोग स्वरूप प्रदान गरेको छ । तीमध्ये मधेश प्रदेशले २३२ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस प्राप्त गरेको महावाणिज्य दूतावासले जनाएको छ ।



