वीरगन्ज,०५ पुस । वीरगन्ज कपडा बैंकले वीरगञ्जको घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ तथा प्रयोग भइसकेका गरी करिब १ हजार १ सय ५० थान कपडा गरिब तथा असहाय नागरिकलाई निःशुल्क वितरण गरिएको छ ।
बैंकका सचिव कन्हैया पटेलका अनुसार सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ठूलो संख्यामा आवश्यकतामा परेका व्यक्तिहरू लाभान्वित भएका छन् । वीरगन्ज कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट गरिब, असहाय तथा विपन्न वर्गलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र कुर्मीले कार्यक्रममा बोल्दै भएका व्यक्तिहरूलाई कपडा बैंकमा सहयोग गर्न र आवश्यक परेकाहरूलाई निःशुल्क कपडा लिन आग्रह गरे । “जो सँग अतिरिक्त कपडा छन्, उनीहरूले कपडा बैंकलाई दिएर मानव सेवामा हातेमालो गर्नुपर्छ,” उनले भने ।
कुर्मीले वीरगन्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर मानव सेवामा योगदान दिँदै आएको उल्लेख गर्दै आगलागी, बाढी, शीतलहर तथा चिसो मौसमजस्ता विपत्तिमा पीडितको घरआँगनमै पुगेर सहयोग गर्दै आएको कार्यको प्रशंसा गरे । साथै उनले प्रत्येक व्यक्तिले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्ने धारणा व्यक्त गरे ।
विशिष्ट अतिथि अधिवक्ता पन्नालाल गुप्ताले दिनदुखी तथा असहायको सेवा सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउँदै वीरगन्ज कपडा बैंकको मानवीय अभियानमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए । कार्यक्रमको समापन गर्दै अध्यक्ष लालबाबु सिंहले बैंकको मानवीय अभियानमा साथ, सहयोग र योगदान गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे ।



