काठमाडौँ,१० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वान–टु–वान छलफल भएको छ। ललितपुरको ज्वागलस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा दुई नेताबीच एक्लाएक्लै वार्ता भएको हो।
यसअघि सोही स्थानमा सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्कीलगायत नेताहरू सहभागी सामूहिक छलफल भएको थियो। पहिलो चरणको सामूहिक संवादपछि लामिछाने र शाहबीच छुट्टै भेटवार्ता भएको स्रोतले जनाएको छ।
आगामी चुनाव नजिकिँदै जाँदा नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य र सम्भावित तालमेलको प्रयासका रूपमा यो छलफललाई हेरिएको छ। छलफलको निष्कर्षबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।



