सप्तरी,१० पुस । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरूको धार्मिक भावना आहत पार्ने सामग्री प्रकाशित गरिएको आरोपमा राजविराज निवासी अफरोज आलमविरुद्ध कानुनी कारबाहीको माग गरिएको छ।
बजरंग दल, हिन्दु सम्राट सेना तथा श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै आवश्यक कारबाही अघि बढाउन आग्रह गरेका हुन्।
ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १, रहमतपुर टोलका अफरोज आलमले सामाजिक सञ्जालमा भगवान् श्रीकृष्णलाई लक्षित गरी आपत्तिजनक, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको आरोप लगाइएको छ। उक्त अभिव्यक्तिले हिन्दु समुदायको धार्मिक भावना गम्भीर रूपमा आहत भएको जनाइएको छ।
राष्ट्रिय बजरंग दल सप्तरीका अध्यक्ष आकाश यादव (अमित), हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दास र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीका संयोजक अनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भगवान् श्रीकृष्ण धर्म, मर्यादा, प्रेम र करुणाका प्रतीक भएको उल्लेख गर्दै यस्ता टिप्पणीले समाजमा धार्मिक सद्भाव बिगार्ने खतरा रहेको भनिएको छ।
नेपालको संविधान, प्रचलित कानुन तथा फौजदारी ऐनअनुसार धार्मिक भावना आहत पार्ने र घृणा फैलाउने कार्य दण्डनीय अपराध हुने उल्लेख गर्दै ज्ञापनपत्रमा सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ।
साथै, घटनाबारे आवश्यक छानबिन गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत कानुनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।



