रौतहट,११ पुस । विगत केही दिनदेखि बढ्दो शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि डिभिजन वन कार्यालय रौतहटले जाडो छल्न निःशुल्क दाउरा वितरण कार्यक्रम सुरु गरेको छ ।
चिसो अत्यधिक बढेपछि सर्वसाधारणलाई सार्वजनिक स्थानमै आगो ताप्ने सुविधा उपलब्ध गराउने उद्देश्यले दाउरा वितरण गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्द्रपुर नगरपालिकाभित्रका मुख्य चोक–चौतारा, सार्वजनिक स्थान तथा सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रहरूमा दाउरा वितरण गरिएको छ । बिहीबार चन्द्रपुर–७ बनबहुअरीस्थित मानवसेवा आश्रममा समेत दाउरा उपलब्ध गराइएको छ ।
पहिलो चरणअन्तर्गत चन्द्रपुर क्षेत्रका विभिन्न चोकहरूमा दाउरा वितरण गरिएको जनाउँदै प्रमुख साहले शीतलहरको प्रभाव कायमै रहेसम्म आवश्यकताअनुसार अन्य स्थानमा पनि दाउरा वितरण गरिने बताउनुभयो ।
सार्वजनिक स्थानमा दाउरा वितरण भएपछि सर्वसाधारण, बिरामीका आफन्त, ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई चिसोबाट राहत पुग्ने विश्वास लिइएको छ । चिसोबाट प्रत्यक्ष प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय तहको माग र उपलब्धताको आधारमा दाउरा वितरण भइरहेको कार्यालयले जनाएको छ ।



