काठमाडौँ,११ पुस । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा त्यसपछि भएका आगजनीका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले शुक्रबार उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो । यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सरकारसँग लिखित जवाफ माग्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमाथि सुनुवाइपछि पूर्ण इजलासले आयोगको गठन र कार्यक्षेत्रसम्बन्धी केही निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।
सर्वोच्च अदालतको यस फैसलासँगै जेन–जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगको वैधानिकतामाथि उठाइएको प्रश्न टुङ्गिएको छ ।




