वीरगन्ज,१३ पुस । बाराको कोल्हवी नगरपालिकामा प्रहरीले अफिमजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो इलाका प्रहरी कार्यालय कोल्हवी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जकाे संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
कोल्हवी नगरपालिका–१ स्थित तामागढीबाट श्रीपुरतर्फ जाँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टीभीएस मोटरसाइकललाई शङ्कास्पद देखी रोकी जाँच गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट करिब ४६० ग्राम अफिमजस्तो देखिने लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध राजेश साहको साथबाट लुकाएर राखिएको अवस्थामा फेला परेको हो। पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका–१० का ३२ वर्षीय राजेश साह, २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन्। प्रहरीले प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
लागूऔषध ओसारपसारमा संलग्न रहेको आशङ्कामा उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। तराई क्षेत्रमा लागूऔषधसम्बन्धी घटनाहरू दोहोरिरहेकाले नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको पनि प्रहरीले जनाएको छ।



