वीरगन्ज,१४ पुस । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विश्वसनीय स्रोतका अनुसार दुवै दलबीच आजै एकताको औपचारिक घोषणा हुन सक्ने सम्भावना प्रबल रहेको छ।
जसपा (अशोक राई पक्ष) भित्र एकताको पहल उपाध्यक्ष रेणु यादवले नेतृत्व गरिरहेकी छन्। पार्टीको केन्द्रीय समितिमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै रेणु यादव समूहले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग निरन्तर संवाद अघि बढाएको बताइएको छ।
यसअघि जसपाबाट अलग भएका नेता राजेन्द्र श्रेष्ठ आफ्नो समूहसहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपातर्फ लागिसकेपछि बाँकी नेताहरूलाई समेट्दै एकताको प्रयास तीव्र पारिएको हो। स्रोतका अनुसार अध्यक्ष अशोक राई एकताप्रति पूर्ण रूपमा सहमत भइनसके पनि छलफल भने जारी रहेको छ।
‘अशोक राईलाई समेटेर नै एकता घोषणा गर्ने प्रयास भइरहेको छ। यदि उहाँ सहमत नहुने अवस्था आयो भने रेणु यादवको नेतृत्वमा बहुमत पक्षले जसपा नेपालसँग एकता गर्ने तयारी गरेको छ,’ स्रोतले जनाएको छ।
यस एकता प्रयासबारे पूर्व मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवले पनि संवाद चलिरहेको पुष्टि गरेका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिमा विचार मिल्ने शक्तिहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताउँदै जनताको म्यान्डेटअनुसार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकताको छलफल अघि बढाइएको जानकारी दिए।
प्रदीप यादवका अनुसार अध्यक्ष राईलाई समेट्ने प्रयास जारी रहे पनि सहमति नजुटे रेणु यादव, प्रदीप यादव, मोहम्मद इस्तियाक राई, वीरेन्द्र महतो, नवलकिशोर साहलगायत नेताहरूले एकता अघि बढाउने तयारी गरेका छन्।
उल्लेखनीय छ, विक्रम संवत् २०८१ वैशाख २३ गते उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अशोक राईले केन्द्रीय सदस्य र केही सांसदहरूलाई साथमा लिएर जसपा नेपालबाट अलग हुँदै नयाँ जसपा गठन गरेका थिए।
यसैबीच, आइतबार मात्रै महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकताको सहमति भइसकेको छ। यसले मधेस केन्द्रित राजनीतिक शक्तिहरूबीच एकताको लहर सुरु भएको संकेत गरेको छ। त्यसको प्रभाव जसपा (राई पक्ष) भित्र पनि देखिन थालेको छ। एकताले मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ। यद्यपि अध्यक्ष राईको अडानका कारण प्रक्रिया केही जटिल बनेको छ। तर स्रोतहरूका अनुसार आजै एकताको औपचारिक घोषणा हुने तयारी तीव्र रूपमा भइरहेको छ।



