वीरगन्ज,१७ पुस । लागूऔषध कारोबारको जोखिम बढ्दै गएको बारा जिल्लामा प्रहरीले १० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पचरौता नगरपालिका क्षेत्रबाट विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–३ ब्रह्मस्थानस्थित गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार दुई जनाको साथबाट दुई पोका गरी १० किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगरका ३३ वर्षीय राजकुमार कुशवाहा र सोही स्थानका २८ वर्षीय पुनदेव पटेल रहेका छन्। पक्राउ परेका दुवै जनालाई गाँजा तथा प्रयोगमा ल्याइएको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिए।
भारतसँग सीमा जोडिएको बारा जिल्लाका विभिन्न नाकाबाट लागूऔषध तथा अन्य अवैध सामग्रीको ओसारपसार भइरहेको गुनासो बढिरहेका बेला प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाउने दाबी गरेको छ। यद्यपि, जिल्लामा लागूऔषध कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ।




