काठमाडौं,१७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष भेटवार्ता गर्नुभएको छ।
लामो समयदेखि आन्दोलनरत प्रसाईं समूहका मागहरूलाई लिएर दुई पक्षबीच आज ठोस संवाद भएको हो। वार्तामा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि उपस्थित थिए, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पछिल्ला वर्षदेखि विभिन्न मुद्दा उठाउँदै आएको प्रसाईं समूहले गत मंसिर ६ गतेदेखि आफ्नो अभियानमार्फत अघि सारेका मागहरूको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। वार्तामा विशेषगरी आर्थिक संकट, बैंक तथा वित्तीय क्षेत्रका समस्या र नागरिकका तत्कालीन सरोकारका विषयमा छलफल भएको बुझिएको छ।
सरकारले आन्दोलनरत पक्षका मागहरूलाई गम्भीरतापूर्वक लिएर वार्ताको माध्यमबाट समाधान खोज्ने संकेत गरेको छ। प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूको प्रत्यक्ष सहभागितामा भएको यस वार्ताले लामो समयदेखि देखिएको गतिरोध अन्त्य हुने र सहमतिमा पुग्ने अपेक्षा गरिएको छ। सरकारले उठेका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्नेबारे आगामी दिनमा थप गृहकार्य गर्ने जानकारी दिएको छ।



