काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले जेनजी प्रदर्शन र यसक्रममा भएका घटनाको अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।
यसै हप्ता तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग बयान लिएर उनलाई लगाएको स्थानहद फुकुवा गरिसकेको आयोगका पदाधिकारीले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिने विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए ।
तर, ओलीसँग बयान लिनुअघि आयोगले तत्कालीन सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न पठाएको छ । उनीहरूलाई बयानकै शैलीमा लिखित प्रश्न पठाइएको हो ।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देउवा र प्रचण्डको निवासमा आगजनी गरिएको थियो भने देउवा दम्पतिमाथि सांघातिक आक्रमणसमेत भएको थियो । दुवै नेतालाई भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित् प्रश्नहरु आयोगले पठाएको हो ।
तत्कालीन प्रधानमन्त्री ओलीले बयान नदिने बताइरहँदा आयोगले दुई पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डलाई लिखित प्रश्न पठाएको हो । ओलीसँग पनि लिखित बयान लिने वातावरण बनाउन आयोगले देउवा र प्रचण्डलाई लिखित प्रश्न गरेको अनुमान गरिएको छ ।
ओलीसँग के–कसरी बयान लिने भन्ने विषयमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीले बिहीबार प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग सामूहिक छलफल गरेको थिए ।
यसअघि बयान लिइसकेका तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको स्थानहद फुकुवा गरिसकेको आयोगले ओलीमाथि लगाइएको स्थानहद कायमै राखेको छ ।
अध्यक्ष ओलीलाई स्थानहद लगाएर सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको तर्क एमाले नेताहरुले बताउँदै आएका छन् । आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्रका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहित १५० जनाभन्दा धेरैसँग बयान लिएको छ ।



