काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीबाट युवा उद्यमी सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगमा बुझाइएको सूचीमा खस आर्य (पुरुष) समूहको दोस्रो नम्बरमा रहेका ढकालले व्यक्तिगत कारण देखाउँदै सूचीबाट बाहिरिने निर्णय गरे।
आफ्नो निर्णय सार्वजनिक गर्दै ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप यसपटक नाम फिर्ता लिएको बताए। पार्टी नेतृत्वले आफूलाई विश्वास गरेर बन्दसूचीमा समावेश गरेकोमा उनले आभार समेत व्यक्त गरे।
विदेशमा अध्ययन पूरा गरेपछि उतै आकर्षक अवसरहरू हुँदाहुँदै पनि स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ नेपाल फर्किएको ढकालले बताए। उनले आफ्ना पिता, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रेरणालाई स्मरण गर्दै भनेका छन्, ‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोचबाट म उद्यमशीलतामा लागेको हुँ।’
ढकाल नेपाली अर्थतन्त्र, खेलकुद र पर्यटन क्षेत्रमा सक्रिय युवा उद्यमी हुन्। युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै अवसरका ढोका खोलिनुपर्ने उनको धारणा छ।
‘कुनै व्यावसायिक घरानामा जन्मिनु अपराध होइन। मैले पारिवारिक पृष्ठभूमिसँगै आफ्नै शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु,’ उनले उल्लेख गरेका छन्।
सचिन ढकाल हाल फुटबल क्लब ‘एफसी चितवन’का अध्यक्ष हुन् भने पर्यटन र हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्। उनको व्यवस्थापनमा ‘इला’ ब्रान्डका होटलहरू सञ्चालनमा छन्।
रास्वपाको समानुपातिक सूचीमा उनको नाम काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कोटाबाट परेको थियो।



