वीरगन्ज,२३ पुस । विगत केही दिनदेखि जारी विरोध प्रदर्शनका कारण प्रभावित बनेको वीरगन्जको जनजीवन सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सहमति जुटेपछि बिस्तारै सामान्य बन्दै गएको छ । आज बिहानदेखि बजार, यातायात र शैक्षिक गतिविधि नियमिततर्फ फर्किन थालेका छन् ।
लगातार दुई दिनसम्म जारी प्रदर्शनका कारण स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । मङ्गलबार बेलुकादेखि छिटफुट रूपमा बजार खुले पनि आजदेखि विद्यालय, उद्योगधन्दा, कलकारखाना तथा व्यापारिक गतिविधि पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै शान्ति सुरक्षा कायम भएको र जनजीवन सामान्य बन्दै गएको जानकारी दिए । सामाजिक तथा धार्मिक आस्थासँग सम्बन्धित विषयमा दुई समुदायबीच विवादको सम्भावना देखिएकाले सुरक्षाको दृष्टिले कर्फ्यू आदेश जारी गरिएको उनले बताए ।
प्रशासनका अनुसार सम्भावित जोखिम न्यूनीकरण र अवस्था सामान्य बनाउन सोमबारदेखि कर्फ्यू लागू गरिएको थियो । बैठकमा सहमति भएपछि मङ्गलबार दिउँसो ३ बजेबाट कर्फ्यू हटाइएको हो । कर्फ्यू हटाइएसँगै वीरगन्जको मुख्य सडक र बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । पसलहरू खुलेका छन् भने रिक्सा, टाँगा, मोटरसाइकलसहित अन्य सवारीसाधनहरू पनि पूर्ववत् रूपमा सञ्चालनमा आएका छन् ।



