spot_img

सुनसरी–१ बाट प्रतिनिधि सभा चुनाव लड्ने धरानका मेयर साम्पाङको घोषणा

spot_img
spot_img

काठमाडौं, २३ पुस । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै साम्पाङले सुनसरी–१ बाटै संसदीय चुनाव लड्ने स्पष्ट पार्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अप्रत्याशित जित निकाल्दै धरानको मेयर बन्नुभएका साम्पाङले पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराउँदै राष्ट्रिय राजनीतिमा सक्रियता बढाउँदै आउनुभएको छ । उहाँको उम्मेदवारी घोषणासँगै सुनसरीको चुनावी राजनीतिमा नयाँ तरंग आएको छ ।

अघिल्लो संसदीय निर्वाचनमा सुनसरी–१ बाट नेकपा (एमाले) र जसपाको गठबन्धनका तर्फबाट अशोक राई निर्वाचित हुनुभएको थियो । साम्पाङ मैदानमा आउँदा परम्परागत दलहरू र उदाउँदै गएको वैकल्पिक राजनीतिक धारबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

‘जय माटो, जय देश’ नारालाई अघि सार्दै साम्पाङले चुनावी अभियानको सुरुआतको संकेत दिनुभएको छ । मेयरको कार्यकाल बाँकी हुँदै प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गर्नुलाई कतिपयले उहाँको राजनीतिक महत्वाकांक्षा मानेका छन् भने कतिपयले धरान र श्रममुखी मुद्दालाई संघीय संसदसम्म पुर्‍याउने प्रयासका रूपमा हेरेका छन् ।

साम्पाङको घोषणापछि अन्य प्रमुख दलहरूले पनि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएका छन् । एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्वसांसद जयकुमार राई र टिका माङ्लेनको नाम चर्चामा रहेको छ भने नेपाली कांग्रेसले उमेश थापासहित आठ जनाको नाम क्षेत्रीय तहबाट सिफारिस गरेको जनाएको छ । कांग्रेसको सूचीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मादेखि जिल्ला सचिव माधवबहादुर घिसिङसम्मका नेताहरू समेटिएका छन् ।

धरानमा ‘श्रम संस्कृति’ को अभ्यासमार्फत छुट्टै राजनीतिक पहिचान बनाउँदै आउनुभएका साम्पाङका लागि प्रतिनिधि सभा निर्वाचन राजनीतिक भविष्य निर्धारण गर्ने निर्णायक परीक्षा हुने देखिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय