२४ पुस, काठमाडौं — नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको पूर्वतयारीस्वरूप युवा भेला गर्ने भएको छ। विशेष महाधिवेशनको उद्घाटन हुनुभन्दा अघिल्लो दिन सानेपास्थित पार्टी कार्यालय परिसरमा युवा कार्यकर्ताहरूको ठूलो भेला आयोजना गर्न लागिएको हो।
सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि २७ पुसमा युवा भेला गर्ने निर्णय भएको नेताहरूले बताएका छन्। उक्त भेलाको संयोजन जिम्मा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको छ।
केन्द्रीय सदस्य गुरु बरालका अनुसार २७ पुसमा युवा तथा विद्यार्थी सञ्जाललाई केन्द्रित गरेर भेला हुनेछ। उनले २८ पुसका कार्यक्रमबारे अन्तिम टुंगो लगाउने प्रक्रिया चलिरहेको बताए। संस्थापन पक्ष नजिकका स्रोतका अनुसार २८ पुसमा जिल्ला सभापतिहरूको छुट्टै भेला आयोजना गरिनेछ। यसका लागि भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई समन्वयको जिम्मेवारी दिइएको छ।
देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायत वरिष्ठ नेता सहभागी थिए। त्यस्तै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघका शीर्ष पदाधिकारीहरूको पनि उपस्थिति रहेको बताइएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर समूहले २७–२८ पुसमा भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ र स्थल ‘बुकिङ’ समेत गरिसकिएको जनाइएको छ।



