काठमाडौं,२४ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अपरिहार्य शर्त भएको स्पष्ट पारेका छन्।
मानवअधिकार संगठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन समयमै निर्वाचन हुनु अनिवार्य रहेको बताए।
उनले मानवअधिकार र पीडितको पक्षमा सरकार सधैं दृढ रहेको उल्लेख गर्दै दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिइने स्पष्ट पारे। “म दण्डहीनताको पक्षमा छैन। मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा कालोसूचीमा पार्ने खालका गतिविधिलाई सरकारले सहने छैन,” उनले भने।
गृहमन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित बनाउन सरकारले आवश्यक सबै सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। साथै, नयाँ पुस्ता (जेन–जी) लाई मतदान प्रक्रियामा सहभागी गराउने र उनीहरूलाई राज्यको मूलधारमा ल्याउने वातावरण निर्माण गरिएको उनले बताए।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन नै एकमात्र विकल्प भएको धारणा व्यक्त गरिन्।




