जनकपुर,२४ पुस । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्वअध्यक्ष इन्जिनियर नन्दकिशोर यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
बिहीबार जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई खादामाला लगाएर स्वागत गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
धनुषा जिल्लाको सबैला नगरपालिका–६ निवासी यादव यसअघि नेकपा मधेश प्रदेश समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए।
पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, कार्यकारिणी समिति सदस्य दीपक कार्कीका साथै हालै जसपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका रेणुकुमारी यादव र प्रदीप यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।



