काठमाडौं,२५ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने तय भएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन्। पत्रकार सम्मेलन स्थगित हुनुको कारण भने औपचारिक रूपमा उल्लेख गरिएको छैन।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन्। तर पार्टी केन्द्रीय कार्यालयले उक्त विशेष महाधिवेशन विधानविपरीत रहेको दाबी गर्दै कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन आग्रह गरेको छ।
महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद बढिरहेका बेला सो विषयमा धारणा सार्वजनिक गर्न आयोजना गर्न लागिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो।





