रौतहट,२६ पुस । रौतहटका विभिन्न स्थानमा आज करिब आठ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको गौर वितरण केन्द्रले सूचना जारी गर्दै चन्द्रनिगाहपुर–गौर सडक विस्तार कार्यका कारण विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो।
सूचनाअनुसार सडक विस्तार क्षेत्रमा पर्ने ३३ केभी लाइन शिफ्टिङ गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।
गौर वितरण केन्द्रका अनुसार गौर सबस्टेशनबाट सञ्चालित इशनाथ, बैरिया, बहुअर्वा, बन्कुल, पुरेनवा तथा गौर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ। निर्धारित समयभित्र काम सम्पन्न गरी विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ।
यसअघि पनि शुक्रबार अपराह्न १२ बजेदेखि ४ बजेसम्म सोही लाइन शिफ्टिङ कार्यका कारण ती क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो।



