काठमाडौं,२६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ। सहमति भएको दुई साताभित्रै शीर्ष नेताहरूबीच पटक–पटकको संवाद निष्कर्षमा पुग्न नसकेको छ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरूले पनि रास्वपासँगको सहयात्रा सहज नहुने संकेत गरेका छन्। शुक्रबार भएको छलफलमा रास्वपा सभापति रवि लामिछाने र घिसिङसहितका नेताहरूले कुनै निष्कर्ष निकाल्न सकेनन्। उज्यालो नेपाल पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार वरीयता, समानुपातिक सूची, जिल्ला बाँडफाँड र केन्द्रीय सदस्य संख्या जस्ता महत्वपूर्ण विषयमा सहमति हुन नसकेको कारण भावी राजनीतिक यात्रा स्पष्ट हुन सकेको छैन।
कुलमान घिसिङले शनिबार एकताका विषय टुङ्गो नपरे उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने संकेत गरेका छन्। उनले भने, “उज्यालो नेपाल पार्टी दर्ता भएर अगाडि बढेको छ, र देशको आवश्यकता तथा जनताको मागअनुसार हामीले रास्वपासँग समझदारी गर्न प्रयास गरेका थियौँ।”
उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले पनि पार्टीलाई सशक्त बनाउन दबाब दिँदै सहमति नभए आफ्नै बाटो अघि बढाउन सुझाव दिएका छन्। गत १४ पुसमा दुई पक्षीय छलफलपछि सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर एकताको घोषणा गरिएको थियो।
सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए भने साक्षीका रूपमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उपस्थित थिए।



