वीरगन्ज,२६ पुस । पर्सा जिल्लाका किसानहरू पछिल्लो समय घोडगधा (नीलगाई)को बढ्दो आतंकका कारण चिन्तित भएका छन्। नीलगाईले गहुँ, हरिया तरकारीलगायतका बालीमा चोरेर क्षति पुर्याउँदै आएको छ भने उखुबालीमा पनि व्यापक नोक्सान भइरहेको छ।
पोखरिया नगरपालिका, कालिकामाई, छिपहरमाई, विन्ध्यवासिनी, जगरनाथपुर र जीराभवानी गाउँपालिकालगायतका क्षेत्रमा यो समस्या तीव्र रहेको किसानहरूले बताएका छन्। किसानहरूका अनुसार बिहान र बेलुकी खेतमा मानिस नभएको मौका छोपी नीलगाईहरू समूह बनाएर खेतमा प्रवेश गरी बाली चर्ने र खेतमा उत्पात मचाउने गरेका छन्।
स्थानीय किसान गोरख महतोका अनुसार, “नीलगाई १५–२० वटासम्मको समूह बनाएर गहुँ, तरकारी तथा उखुबाली चर्छन्। दिनभर नदी किनार र उखुबारी क्षेत्रमा बस्ने यी जनावर बिहान र बेलुकी खेततर्फ आउँछन्। यसले उत्पादन घटाउँछ र किसानहरू निराश छन्।”
किसानहरूले बाली जोगाउन विभिन्न उपाय पनि अपनाइरहेका छन्। पछिल्लो समय खेतमा जडान गरिएको विद्युतीय साइरनले मानव आवाज जस्तो ध्वनि निकालेर नीलगाईलाई खेततर्फ नआउने प्रभाव देखाएको छ। किसानहरू दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले ठोस योजना ल्याउनुपर्ने माग राखेका छन्।



