काठमाडाैं,२६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आवश्यकता अनुसार लोकतान्त्रिक शक्तिहरूसँग विभिन्न विषयमा सहकार्य गर्न एमाले तयार रहेको बताएका छन्। शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र राष्ट्रिय हितका सवालमा अन्य दलहरूसँग संवाद र समझदारी गर्न एमाले इच्छुक रहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले एमाले स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भए पनि लोकतन्त्र र संविधान जोगाउने विषयमा सहकार्य अपरिहार्य हुने बताए। उनका अनुसार देशले सामना गरिरहेका चुनौतीहरू अझै समाप्त भइसकेका छैनन् र वर्तमान अवस्थामा लोकतन्त्र तथा संविधान नै संकटमा परेका छन्।
जननिर्वाचित सरकारको सट्टा संविधानबाहिरको अनिर्वाचित सरकार सञ्चालन भइरहेको दाबी गर्दै ओलीले समाजमा अराजकता, निषेध र हिंसाको वातावरण कायमै रहेको बताए। राष्ट्रिय एकता कमजोर बन्दै जाँदा वैदेशिक हस्तक्षेपको जोखिम बढेको र राष्ट्रिय हितको रक्षा थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
अध्यक्ष ओलीले मुलुकमा केही पनि उपलब्धि नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गरिएको उल्लेख गर्दै यसले विशेष गरी युवापुस्तामा निराशा र अन्योल फैलिएको बताए। यस्तो अवस्थालाई चिर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरूबीच निरन्तर संवाद आवश्यक रहेको उनले जोड दिए।
यही सन्दर्भमा अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई न्यूनतम समझदारी र सहकार्यका लागि औपचारिक रूपमा आह्वान पनि गरे। पार्टीको आगामी कार्यदिशाबारे उल्लेख गर्दै उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा कायम राख्दै राष्ट्रिय महत्त्वका विषयमा मिल्न सक्ने शक्तिहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए।
संविधान मिचिएको वर्तमान अवस्थालाई सच्याउन र देशलाई सही दिशातर्फ लैजान सबै जिम्मेवार राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।



