स्याङ्जा – कालीगण्डकी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ। गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई स्थिर राख्न र पोषणमैत्री स्थानीय शासनको उद्देश्यसहित यो योजना ल्याएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।
गाउँपालिकाले स्वीकृत कार्यविधिअनुसार चालु आर्थिक वर्षको साउनपछि तेस्रो सन्तान जन्माएको परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्। तीन सन्तान जन्माउने परिवारलाई प्रतिमहिना ४ हजार रुपैयाँ दरले दुई वर्षसम्म आर्थिक सहायता प्रदान गरिनेछ।
आवेदनमा निवेदन फाराम, नागरिकता, जन्मदर्ता, विवाह दर्ता र आवश्यक परे बसाइँसराइको प्रमाणपत्र पेश गर्नुपर्नेछ। जन्म भएको सन्तान सरकारी सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने शर्त पनि कार्यविधिमा तोकिएको छ।
अध्यक्ष थापाले भने, “यो कदमले जनसङ्ख्या स्थिर राख्ने, गाउँका मानिसको संख्या घट्न नदिने र सुरक्षित सुत्केरी बढाउने काममा सहयोग पुग्नेछ।”



